Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


रास्वपाद्वारा प्रधानमन्त्री ओलीको राजीनामासँगै मध्यावधि निर्वाचनको माग (विज्ञप्तिसहित)

घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनकाे माग

2.574k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यावधि निर्वाचनको माग गरेको छ ।

रास्वपाले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साेही माग गरेको हो । जेनजी पुस्ताका युवाहरूले गरेको काठमाडाैं उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शनमा १७ जनाको मत्युभएपछि रास्वपाले नेकपा एमाले र नेपाली कांग्रेसकाे संयुक्त सरकारको बर्खास्ती र ताजा जनादेशको माग गरेको हो ।

देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित साेमबारको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको रास्वपाले भर्त्सना गरेकाे जारी विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा समेत माग गरेको हाे । साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री रमेश लेखक लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग समेत रास्वपाले गरेको छ ।