
डिल्ली बसेल
काठमाडाैं । जेन-जी भनिने नयाँ पुस्ताले देशमा ब्याप्त भ्रष्टाचार र मनमौजी शासन विरुद्ध विद्रोहको विगुल फुकेको छ ।
‘दी फाइनल रिभोलुसन-वी आर पञ्चिङ अप’ भन्दै जेन-जीले सामाजिक सञ्जाल मार्फत साेमबार माइतीघर मण्डला र संसद भवन अगाडिबाट आन्दोलन छेड्ने घोषणा गरेको हाे । यहि बीचमा सरकारले सामाजिक सञ्जालहरुमा प्रतिबन्ध लगाउँदा नयाँ पुस्ता झन् आक्रोशित बनेको छ ।
“म दिन रात काम गर्छु किनकी मैले नेताका छोराछोरीको मस्तीका लागि कर तिर्नुपर्छ” भन्ने नारा अहिले जेन जी पुस्ताले भाइरल बनाएको छ । सत्ताधारीदेखि विपक्षी तथा पदमा भएकादेखि अवकाश लिईसकेका नेताहरुका सन्तान वा कर्मचारी र न्याायधीशहरुका सन्तानका महँगो जीवनशैलीमाथि प्रश्न उठाउँदै नयाँ पुस्ताले आन्दोलनको शंखघोष गरेको छ । सामाजिक सञ्जालबाट शुरु भएको जेन-जी पुस्ताको यो अभियान अब सडकमै पोखिने अवस्थामा आईपुगेको छ । सोमबार उनीहरुले संसद भवन अगाडिबाट आन्दोलन घोषणा गर्ने भएका छन् ।
इण्डोनेसियाबाट शुरु भएको नेपो बेवी अर्थात नातावाद विरुद्धको आन्दोनल फिलिपिन्स हुँदै अहिले नेपाल भित्रिएको हो । नेता बाउआमाको औलो समातेर राजनीति, ब्यापार र सत्तामा हालिमुहाली गर्ने सन्तानहरु विरुद्धको आन्दोलन हो, नेपो बेबी । टिकटक, इन्स्ट्राग्राम र रिडइट लगायतका सामाजिक सञ्जालमा जेन-जीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्रदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरी तथा नाति नातिनासम्म, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइका छोरी र नातिसम्म तथा विभिन्न न्यायाधीश वा कर्मचारीका सन्तानहरुको कहाँ छन् र उनीहरुको जीवनशैली कति महँगो छ भन्ने कुरा छरपष्ट पारिदिएका छन् । जेन-जीले सामाजिक सञ्जालमा प्रेषित गरेका सामग्री हेर्दा जो कोहीलाई जुरुक्क उचाल्ने अवस्था छ ।
सामाजिक सञ्जालमा भाइरल भएका कन्टेन्ट हेर्दा भर्खर कलेज प्रवेश गरेको पुस्ता देशमा ब्याप्त राजनीतिक ब्यभिचार र शासकीय मनमौजीतन्त्रकाे बारेमा भलिभाँती जानकार रहेको बुझ्न सकिन्छ । सडकमा मकै पोल्नेहरु होऊन वा घण्टौं कम्प्युटरमा घोप्टिएर कमाउेहरु वा खाडीको ५० डिग्रीको तातो बालुवामा पसिना बगाउनेहरु होऊन वा गाउँ घरमा बसेर वनजंगल चाहरेर जीवन चलाउनेहरु, उनीहरुले तिर्ने करको दुरुपयोग नेता र तिनका सन्तान तथा आसेपासेले गर्दै आएका छन् भन्ने कुरा नयाँ पुस्ताले बुझिसकेको देखिन्छ ।
जनताले ज्यान पाल्नका लागि हड्डी घोट्नुपर्ने तर नेता र तिनका सन्तानले विना लगानी, विना मेहनत मस्तीको जिन्दगी बाँच्न पाउने ? नेताका सन्तानहरु काठमाडौंमा खाएर हङकङमा हात चुठ्ने पुग्ने, रुघा लागे सिंगापुर जान पुग्ने, सपिङका लागि मुम्बइ र बैंकक जान पुग्ने ! अनि जनताले चाहीँ इन्टरनेटका लागि पनि सरकारको निगाहमा भर पर्नुपर्ने ? भन्ने आक्रोश छ, नयाँ पुस्तामा ।
यहि बीचमा सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा जेन-जी झन् आक्रोशित बनेको छ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा उनीहरुले भोग्नु परेको पीडाले पनि यो आन्दोलनलाई मलजल गर्ने देखिएको छ । सरकारले कहिले के बन्द त, कहिले के बन्द भनेर जनतालाई खेलौना बनाएको उनीहरुको बुझाई छ । विदेशी सेवा प्रदायकहरुले निशुल्क उपलब्ध गराएका युट्युब, ह्वाट्सएप, फेसबुक, ट्वीटर, इन्स्ट्रा, रिडइट जस्ता सामाजिक सञ्जालहरु युवा पुस्ताका लागि सिक्ने र बाँच्ने आधार बनिसकेका छन् । उनीहरु अन्तरक्रियादेखि पढाईसम्म र उनीहरुले गर्न चाहने कामको छलफलका लागि यसमै निर्भर छन् । तर सरकारले त्यसमै धावा बोलेपछि उनीहरुको आक्रोश चुलिनु स्वभाविक नै हो ।
नयाँ पुस्ताले इतिहासको सिरानी हालेर चित्त बुझाउँदैन । नालापानीको कथा सुनेर उनीहरु अघाउँदैनन्, नत लोकतन्त्रको संघर्षको कथाले नै उनीहरुका महत्वाकांक्षालाई सम्बोधन गर्छ । आफूभन्दा चार गुना उमेरका मानिसहरु सत्तामा बस्ने, आलोपालो गर्दै खाने र उल्टै नयाँ पुस्तालाई केही जानेका छैनन जस्तो गरी अर्ति उपदेश दिएको पनि उनीहरुलाई पच्दैन । नेपो बेबी विरुद्ध उत्रिएको पुस्ताले नेपालमा पछिल्लो डेढ दुई दशक अर्थात उनीहरु जन्मेपछि देशमा राजनीतिको नाममा भइरहेको मनमौजीतन्त्रमा पनि नजर राखेको रहेछ भन्ने देखिएको छ । संविधान र विधि विधानको आफू अनुकूल ब्याख्या गर्ने, भएन भने विधि विधान नै भत्काएर आफू अनुकूल बनाउने नेताहरुको मनमौजीतन्त्रलाई पनि नयाँ पुस्ताले बुझेको रहेछ ।
कानून बनाउने संसद सीमित नेताको कब्जामा, कानुन कार्यान्वयन गर्ने उनीहरु नै, कर्मचारी र पुलिस प्रशासन उनीहरुकै, अड्डा अदालत पनि उनीहरुकै ! सिंगो राज्य संयन्त्र कब्जा गरेर देश दोहन गर्ने तर त्यस विरुद्ध छिसिक्क बोल्नेलाई ब्यवस्था विरोधी भनेर गैरन्यायिक थुनामा राख्ने सत्ताको रवैयाँप्रति पनि नयाँ पुस्ता जानकार देखिएको छ । कतिसम्म भने सामाजिक सञ्जाल बन्दको विरोधमा मौन प्रदर्शनमा उत्रिनेहरुमाथि पुलिसले धरपकड गर्ने तर सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिने मन्त्रीले माफी पनि माग्नु नपर्ने ! उल्टै प्रधानमन्त्रीले घटनालाई सामान्य बनाएर आफैं न्यायाधीश बन्ने प्रवृत्ति पनि नयाँ पुस्ताले राम्रोसंग बुझेको छ ।
त्यसैले उनीहरु भन्दैछन्, कहिलेसम्म पाल्ने नेता र तिनका सन्तान ? जेन जी को यो खालको हुँकारले मुलुकमा तत्कालै कुनै परिवर्तन त गर्ला नगर्ला तर उनीहरुको यो तहको बुझाईको स्तरले बूढा नेताहरुका लागि आगामी दिन सजिला छैनन् भन्ने संकेत चाहीं पक्कै गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्