
काठमाडौं । नेकपा एमालेकाे गत शुक्रबार शुरु भएको दोस्रो विधान महाधिवेशन सम्पन्न भएकाे छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले आइतबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरू पारित गरेको हाे । विधान महाधिवेशनभर सबै भन्दा बढी चासोको विषय बनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय थियाे ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले उहाँको सदस्यता नवीकरणको विषयमा कुनै निर्णय गरेन । योसँगै विद्याको सदस्यता नवीकरण नहुने केन्द्रीय कमिटीको निर्णय सदर भएको नेताहरूले बताएका छन् । तर, प्रतिवेदनमा भने यो विषयमा केही बोलिएको छैन । बरु एमालेमा नेतृत्वमा रहेको ७० वर्षको उमेरहदको विषय हटेको छ । अध्यक्षमा दुई कार्यकाल मात्रै रहन पाउने सीमा पनि हटेको छ । योसँगै ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ ।
सबै प्रतिवेदन गत शुक्रबार प्रस्तुत भएका थिए । शनिबार १० वटा समूह बनाएर छलफल भएको थियो । आइतबार समूहगत छलफलमा आएका सुझाव प्रस्तुत भएका थिए । समुहगत रुपमा प्रतिवेदन पेश गर्दै सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष सुनाउनुभएकाे छ ।
कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले ‘अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय’ रहेको बताउनुभयाे । त्यस्तै, लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने बताउनुभएकाे छ । यसका निम्ति पार्टी एकढिक्का भएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
पार्टीमाथि देशी र विदेशी शक्तिबाटचौतर्फी आक्रमण भइरहेको समयममा नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट पुन: नेतृत्व दिनुपर्नेमा नेताहरुकाे दावी छ । कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेश गर्नु भएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरिएको बताउनुभयाे ।
राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनुपर्ने सुझाव नेताहरुबाट आएकाे उहाँ काे दावी छ । समूहगत रूपमा भएको छलफलमा उठेका विषयकाे बारेमा नेतृत्वले जवाफ दिएपछि महाधिवेशन सम्पन्न भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्