
काठमाडौं । साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ सार्वजनिक भएकाे छ ।
काठमाडाैंकाे अनामनगरमा रहेकाे युएन हाउसमा एक कार्यक्रमकाबीच शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व-कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा साेही कृतिको विमोचन भएको हो । साेही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काइँलाले उपन्यासमा मुन्धुमी बिम्ब साथै ऐतिहासिक विषयहरुको उठान भएको बताउनुभयो ।
मुन्धुममा वर्णित सेक्मुरी मानवको प्रतिक फूल भएको चर्चा गर्दै उहाँले त्यसलाई लेखकले प्रात्रको रुपमा सुन्दर ढंगले प्रस्तुत गरेको बताउनुभएकाे छ । उपन्यासले नेपालको प्राग ऐतिहासिक कालदेखि बुद्धको आगमन र बौद्ध दर्शन विस्तारको प्रसंग उठान गर्नका साथै मुन्धुममा आउने सृष्टि उत्पतिको मिथकलाई छोएको काइँलाकाे भनाइ थियाे ।
साेही कार्यक्रमका साहित्यकार कृष्ण धाराबासीले विमोचित उपन्यास नेपालको पूर्वी पहाडबाट उठेको एक शक्तिशाली आवाज भएको दावी गर्नुभएकाे छ । मोफसलका लेखक तथा साहित्यकारहरुको सबै भन्दा ठूलो पिडा केन्द्रमा रहेका मूलधार भनिएका संचार माध्यमहरुले खास महत्व नदिएकाेप्रति उहाँले गुनासो समेत गर्नुभयाे ।
त्यसैगरी कार्यक्रमका अर्का वक्ता दिपक लुङगेली मगरले विमोचित उपन्यास इतिहास र साँस्कृतिक स्मृतिको दस्तावेज रहेको बताउनुभयो । कृति मुन्धुम र बौद्ध दर्शनको मिश्रित सेमिनार जस्तो रहेको उहाँकाे भनाइ छ । उपन्यास भित्रका पात्रहरुको फरक मनोवैज्ञानिक यात्राले कृतिलाई पृथक पहिचान दिनसक्ने र मुन्धुममा रुची हुने पाठकहरुका लागि कृति राम्रो स्रोत हुने उहाँकाे तर्क छ ।
प्रतिक्रिया दिनुहोस्