
काठमाडाैं । नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीले सूचीकरण नभएका फेसबुकसहिहतका सामाजिक सञ्जाल सरकारले निष्क्रिय गरेकाे विरोधमा सडकमा विरोध प्रदर्शन गरेका छन् ।
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरु निष्क्रिय पारेको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा आइतबार उनीहरुले प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको माग छ । साेही मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई यहि भदौ १८ देखि निष्क्रिय पार्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णय कार्यान्वयनमा समेत गइसकेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको परमादेशका आधारमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको हो ।
सरकारको साेही निर्णयको सत्तारुढ राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका नेता र नागरिक समाजले समेत आलोचना गरिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्