Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


ललितपुर महानगरले न्हुः पोखरीमा रहेका अनाधिकृत संरचना भत्कायो


130
Shares

काठमाडाैं । ललितपुर महानगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनाधिकृत संरचना डाेजर लगाएर भत्काएको छ ।

महानगरपालिकाले आइतबार उक्त क्षेत्रका संरचनाहरु डाेजर लगाएर भत्काएको हो । महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सोही क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगरले सो क्षेत्रमा रहेको संरचना भत्काएको हो । न्हुः पोखरीको उत्तरपूर्व भागमा मिचेर बनाइएको अनाधिकृत संचरनालाई वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए ।

महानगरपालिका-५ जावलाखेलमा रहेको ऐतिहासिक न्हुः पोखरीलाई महानगरपालिकाले जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको छ । महानगरपालिकाले पोखरीको जग्गाको अतिक्रमण बढेपछि सार्वजानिक जग्गा तथा ऐतिहासिक सार्वजानिक पोखरीको संरक्षण गर्ने निति बमोजिम न्हुः पोखरीको जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको हो । सो कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगर कार्यपालिकाबाट स्वीकृत गरि बजेट समेत विनियोजन गरिएको महानगरले जनाएको छ ।
वुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले महागरपालिकासँग पटक-पटक छलफल गर्दा पनि निकास नदिएको आरोप लगाउनुभयो ।

आफूहरु पोखरीको विरोधी नभएको भन्दै उहाँले आफूहरुलाई विकल्प दिन आग्रह गर्नुभयो । २०१० सालमा स्थापना भएको वुद्धि विकास मण्डलले पनि समाज सेवा गरिएको उहाँको भनाइ छ । उहाँले वुद्धि विकास मण्डलको भवन भत्काउन रोक्न आन्तरिम आदेशको माग गर्दै साउन १८ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको समेत जानकारी दिनुभयो । उच्च अदालतले अन्तरिम आदेश नदिएपनि कारण देखाउ आदेश जारी गरेको उहाँले बताउनुभयो । उक्त आदेशको पनि पालना नगरी संरचना भत्काइएको उहाँको आरोप छ ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजानिक सम्पती संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानिय तहको भएको उल्लेख गर्दै गत साउन १६ गतेको निर्णय बमोजिम न्हुः पोखरी उत्तर पूर्वपोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । उक्त अवधिमा संरचना नहटाएपछि महानगर आफैंले डाेजर लगाएर भत्काएकाे हाे ।