
काठमाडाैं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ । पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आइतबार राति १० बजेर ११ मिनेटमा ग्रहण स्पर्श र राति ११ बजेर १५ मिनेटमा सम्मीलन, ११ बजेर ५६ मिनेटम मध्य, आइतबार राति मध्याह्न १२ बजेर ३८ मिनेटमा उन्मीलन र राति १ बजेर ४१ मिनेटमा मोक्ष हुने जनाएकाे छ ।
कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि साढे ३ घण्टा रहने भएकाे हाे । नेपाल र भारतसहित एसियाका अधिकांश देशबाट यस ग्रहणलाई शुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने भएकाे छ । खगोल विज्ञानका अनुसार जब सूर्यलाई पृथ्वीले र पृथ्वीले चन्द्रमालाई घुम्छन् । आ-आफ्नो कक्षमा घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटा समान रेखामा आउँछन् । यसो हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ ।
सामान्यतया सूर्यको प्रकाश चन्द्रमामा परेर हामीले चन्द्रमालाई देख्ने गर्छौं । तर जब पृथ्वी बीचमा पर्छ, पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्छ । यो अवस्थामा चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पूर्णरुपमा ढाकेमा खग्रास चन्द्रग्रहण र आंशिकरुपमा ढाकेमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ । त्यसैगरी सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले फन्को लगाउने क्रममा सूर्य-पृथ्वीकोबीचमा चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेकिदिन्छ ।
सूर्यको प्रकाश छेकिंदा पृथ्वीमा अँध्यारो हुन्छ । साेही अवस्थालाई सूर्यग्रहण भनिन्छ । चन्द्रग्रहण वा सूर्यग्रहण हुनु सामान्य खगोलीय घटना हो । तर धार्मिक मान्यतामा विश्वास गर्नेहरुले ग्रहण लागेको समयलाई शुभ मान्दैनन् । ज्योतिषशास्त्रका अनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्ने छ ।
प्रतिक्रिया दिनुहोस्