
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारले फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनीहरूले दर्ता नभएको बहानामा गरिएको यो प्रतिबन्ध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात भएको ठहर गरेका छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो भने नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको प्रत्याभूति गरेको छ । यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने कार्य लोकतान्त्रिक मान्यताविपरीत रहेको भन्दै उनीहरूले तुरुन्त प्रतिबन्ध हटाउन माग गरेका छन् ।
महासंघका पूर्वपदाधिकारीहरूले सामाजिक सञ्जाल बन्द गर्नुले लाखौं प्रवासी नेपाली र परिवारबीचको सम्पर्क टुटाएको, बालबालिकाको सिकाइमा दीर्घकालीन असर पारेको र हजारौं व्यक्तिको रोजीरोटी बन्द भएको बताएका छन् ।
सामाजिक सञ्जालको नियमन आवश्यक भए संसदमार्फत कानुन बनाएर व्यवस्थित र पारदर्शी ढंगले गर्न सकिने भएकाले पूर्ण बन्द गर्नु अलोकतान्त्रिक कदम भएको भन्दै उनीहरूले सरकारलाई तत्काल प्रतिबन्ध फिर्ता लिन र विज्ञको सहभागितामा दीर्घकालीन समाधान खोज्न आह्वान गरेका छन् ।
प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि भाेलि (भदौ २२ ) गते आइतबार दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शनको आह्वान गरिएको छ । आयोजकहरूले उक्त कार्यक्रममा सम्पूर्ण पत्रकार, सरोकारवाला र नागरिक स्वतन्त्रताका पक्षधरहरूलाई सहभागी हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्