२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


सरकारको लक्ष्य ‘गाउँगाउँमा सिंहदरबार’ पुर्‍याउने नै हो: मन्त्री न्यौपाने


78
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारले पनि गाउँगाउँमा सिंहदरबार पु¥याउने लक्ष्य लिएको बताएकी छिन् ।

अप्सरा गौतमले सम्पादन गरेको ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै उनले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै सरकार अघि बढिरहेको बताइन् । उनले स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

संविधानमा उल्लेख भएका तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उनले जोड दिइन् । आन्दोलनको उपलब्धिको रुपमा तीन तहको सरकार निर्माण भएको भन्दै उनले स्थानीय तह जनताको नजिकको र आफ्नो सरकार भएको पनि बताइन् । उनले संविधानमा स्थानीय तहका एकल र साझा अधिकार भएको भन्दै अधिकारका विषयमा भएका केही असहमतिलाई छलफलको माध्यमबाट टुंग्याउनुपर्नेमा जोड दिइन् । स्थानीय तहलाई आफैं कानुन बनाउने र बजेट बनाउने अधिकार भएकाले पनि स्थानीय तह बलियो बन्दै गएको उनको भनाई छ ।
उनले संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी पनि गरिन् । उनले स्थानीय सरकारलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको पनि बताइन् । पुस्तकको नामले नै सबै कुरा प्रष्ट पार्ने भन्दै पुस्तकको प्रशंसा गरिन् । कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सिंहदरबारलाई प्रदेश र गाउँतिर पठाउनु गौरवको विषय भएको बताए । सभामुख मण्डलले हिजोको दिनमा सिंहदरबारबाट नै नीति, नियम बन्ने र बजेट पनि बिनियोजन हुने तर अहिले सिंहदरबारको अधिकार प्रदेश र गाउँमा गएकाले त्यसलाई गाउँगाउँमा सिंहद्रबार भनिएको बताए ।

नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले स्थानीय तह भनेर संविधानमा कतै नलेखिएकाले यसलाई सरकारकै रुपमा हेर्नुपर्ने बताए । ढुंगानाले कानुनमा नै स्थानीय सरकार संचालन ऐनं २०७४ भनिएकाले स्थानीय सरकारलाई पनि सरकारकै रुपमा बुझिदिन आग्रह गरे । उनले स्थानीय तहलाई धेरै अधिकार दिएको भए पनि बजेटको अभावमा कतिपय काम गर्न नसकिने अवस्था रहेको भन्दै संघ र प्रदेश सरकारले स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले अन्य देशको तुलनामा नेपालमा स्थानीय तहलाई धेरै अधिकार दिएको बताए । उनले संघ, प्रदेश र स्थानीय तहलाई आफूहरुबीच समस्या केमा छ भन्ने थाहा भए पनि समस्या समाधान गर्नेतिर नलागेकोे आरोप लगाए । अधिकारीले अहिले अर्थतन्त्रमा संकट आएको भन्दै बाहिर देख्दा अर्थतन्त्र राम्रै देखिए पनि भित्री रुपमा ‘साइलेन्ट डिजिज’ को समस्या भएको बताए ।

पुस्तकको बारेमा बोल्दै सम्पादक गौतमले यो डिजिटल युगमा पनि पुस्तक पढ्ने बानीको विकास होस् भनेर पुस्तक प्रकाशन गरिएको बताइन् । उनले तीनै तहको सरकार, उनीहरुका गुनासा, समस्या, सम्भावनालगायतका विविध सामग्रीहरु पुस्तकमा समावेश गरिएको जनाएकी छिन् । विशेषगरी यस पुस्तकले स्थानीय तहका समस्या, ती समस्याहरुको समाधान र स्थानीय तहले आगामी दिनमा बनाउनुपर्ने योजनालाई समेत समेटेको गौतमले बताइन् ।

प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुख, संविधानविद्, पूर्वमन्त्री, पत्रकार, संघीयताविद्, सांसद र विषयविज्ञ गरी ३३ जनाको लेख यस पुस्तकमा प्रकाशित गरिएको छ । ३ सय पृष्ठको पुस्तकले तीनै तहको सरकारको विषयवस्तु समेटेको छ । उक्त पुस्तक समग्र मिडिया प्रालिद्वारा प्रकाशन भएको हो ।