२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँः सभामुख घिमिरे


182
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा ए.आई.को उपयोगबारे अध्ययन भइरहेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा ए.आई. निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्ने बताउनुभयो । नेपालको सन्दर्भमा पनि ए.आई. ले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्नसक्नेमा दुईमत नरहेको बताउनुभयो । जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई ए.आई. बाट सरल बनाउन सकिने उहाँको विश्वास छ ।

तर गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता (ए.आई.)को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘कृत्रिम बुद्धिमत्ता (ए.आई.) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको छ । नियमित स्वास्थ्य परीक्षणमा भिडियो मार्फत सुझाव लिन सकिने, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने, दुरदराजमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सकिने र आपतकालीन अवस्थामा प्रारम्भिक चेतावनी प्रणालीबाट जोखिम घटाउन सकिने जस्ता धेरै सकारात्मक प्रभाव छन् ।

विभिन्न क्षेत्रका निर्णय प्रक्रियामा ए.आई. को विश्लेषणात्मक क्षमता उपयोगी हुन्छ, जसले समय र स्रोत दुबैको वचत गर्छ । तर ए.आई. सँग केही गम्भीर बेफाइदाहरु पनि छन् । गलत सूचना र भ्रम फैलाउने ‘डीपफेक’ प्रविधि, साइबर ठगी तथा संवेदनशील व्यक्तिगत डेटा चोरी हुने सम्भावना लगायतका समस्या बढिरहेका छन् ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ताले मानव श्रमलाई विस्थापित गर्ने खतरा पनि छ, जसले बेरोजगारी बढाउन सक्छ । त्यसैले, यसको प्रयोग गर्दा सुरक्षात्मक र नैतिक मापदण्डमा विशेष ध्यान दिन जरुरी छ । संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा ए.आई. को उपयोगले कार्यसम्पादनलाई सहज र पारदर्शी बनाउन सकिनेबारे हामीले अध्ययन गरिरहेका छौं ।

संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसन मार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा ए.आई. निकै उपयोगी हुन सक्छ । यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्छ । नेपालको सन्दर्भमा पनि ए.आई.ले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुईमत छैन ।

जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई ए.आई. बाट सरल बनाउन सकिन्छ । तर, गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक छ । आजको कार्यक्रमको अन्तिम सेसनमा संसदमा ए.आई. जस्ता प्रविधिको प्रयोगबारे हुने छलफलले केही दिशानिर्देशन गर्ने अपेक्षा लिएको छु ।’

सभामुख घिमिरेले गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै एआईको प्रयोग गर्नु उचित हुने बताउनु भयो ।