२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


काँग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छः महामन्त्री थापा


182
Shares

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आजको नेपाली काँग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडांैमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । हाल देशमा पुर्वाधार विकाससँगै धेरै कुराहरु बदलिएको उहाँको भनाई छ । बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरु पनि बढेको उल्लेख गर्नुहुँदै उहाँले जुन स्वभाविक भएको बताउनु भयो ।

नेपालबाट धेरै युवाहरु रोजगारीको लागी विदेशमा जाने गरेकोले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हाल कोरिया काम गर्न गएको मान्छेले मासिक दुई लाख वचत गर्ने उल्लेख गर्नुहुँदै नेपालमा पनि सोही बराबरको आम्दानी हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउनु भयो । हाल ५० हजार भन्दा बढीले राम्रो रोजगारी पाउन नसकेको उहाँको भनाई छ ।

नेपालका युवाहरुलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्न काँगेस लाग्नुपर्ने उहाँको भनाई छ । काँग्रेसका लागी सरकारमा बस्ने, टिक्ने, रहने वा नरहने भन्ने गौण कुरा हुनुपर्ने उहाँले बताउनु भयो । उहाँले काँग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘देशभरी पूर्वाधार बनेको छ । देशभरी विकास भएको छ , थुप्रै कुराहरु बदलिएको छ । तर यो बदलिएको सँगसँगै मान्छेहरुको आकंक्षाहरु पनि बढेको छ । जुन स्वभाविक हो । हाम्रा मानिसहरु बाहिर काम गर्न गएका छन् ।

म अस्ति कोरिया गएर आए, कोरियामा एउटा केटोले महिनाको बचत दुई लाख छ । कमाई अडाई लाख छ । मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ । मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले । ४०-५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन । लाखौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुपर्ने अपस्था छ ।

त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन । राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ । आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरुलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु । यसका निम्ती जे पनि गर्छु, मेरो लागी मुख्य कुरा यो हो अहिले ।

मेरो लागी सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् । म आजको दिनमा पहिला यो सपना देख्छु, त्यो सपनालाई समात्छु, त्यो प्रति एउटा विश्वास राख्छु । र मैले देखेको सपनालाई आम नागरिकको सपना बनाउँछु । र यो सपना पुरा गर्नको निम्ति यो प्रतिवद्ध छ भन्ने भरोसा दिलाउँछु ।’ विपी कोईरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्नुहुँदै उहाँले आजको काँग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताउनुभयो ।