२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


विश्व बैंकका उपाध्यक्षको सुझाव


0
Shares

काठमाडौं । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटले नेपालको आफ्नो पहिलो औपचारिक भ्रमण गरेका छन् ।

आफ्नो ५ दिने भ्रमणको क्रममा जुटले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग भेट गर्नुभयो । १० बर्षपछि नेपाल फर्केर आउँदा लोडसेडिङ अन्त्य, भूकम्प कोभिड महामारी झेल्दै पनि नेपालले शान्ति सुदृढीकरण, सेवा प्रवाहलगायतमा गरेको सुधार देख्न पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो ।

सरकार, निजी क्षेत्र र विकास साझेदारहरूका प्रतिनिधिहरूले कृषि व्यवसाय, पर्यटन, सूचना प्रविधि र अन्य विकास क्षेत्रहरूमा नेपालले हासिल गरेका उपलब्धि र यी उपलब्धिहरूलाई विस्तार गर्न विश्व बैंकले गर्न सक्ने सहयोगकाबारे राखेका चासोले आफु थप उत्साहित भएको पनि जुटले टिप्पणी गर्नुभएको बैंकको नेपालस्थित कार्यालयले जनाएको छ ।

आफ्ना बैठकहरूमा, जुटले विश्व बैंक समूहको नेपालको लागि नयाँ कन्ट्री पार्टनरसिप फ्रेमवर्कका बारेमा छलफल गर्नुभएको थियो । यो सरकारको १६ औं योजनासँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको जनाइएको छ । नेपालका दुई सबैभन्दा महत्वपूर्ण विकास चुनौतीहरूमा रोजगारी सिर्जना र विपद्संग जुध्नसक्ने क्षमता रहेको पनि जुटको ठहर छ ।

विश्व बैंक समूहले २०२५ देखि २०३१ सम्ममा कन्ट्री पार्टनरसिप फ्रेमवर्क अन्तर्गत लगभग २ दशमलब ७ अर्ब डलर उपलब्ध गराउने लक्ष्य राखेको छ । यसको मुख्य उद्देश्य पर्यटन र डिजिटल विकास सहित प्रतिस्पर्धात्मकता र लगानी बढाउन व्यावसायिक वातावरण सुधार गरेर उच्च रोजगारी सिर्जना गर्नु रहेको छ ।