१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


सामाजिक सञ्जालमाथिको प्रतिवन्धपछि सञ्चारमन्त्री गुरूङकाे प्रतिक्रिया: ‘सूचीकरण गर्न एक पैसा पनि लाग्दैन तर सूचीकरण गर्न आएनन्'(भिडियाेसहित)


1.911k
Shares

काठमाडाैं । सरकारले बिहीबार फेसबुकसहितका दर्जनौं बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको मन्त्रीस्तरीय निर्णयले नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बिहीबारदेखि नै बन्द गर्ने निर्णय गरेको हो । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न गराउन इच्छुक व्यक्ति कम्पनी तथा संस्थाले नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाको अनुसूची १ अनुसार ढाँचामा तोकिएका कागजात संलग्न गराइ ७ दिनभित्र निवेदन दिन र यसरी सूचीकरणका लागि निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क बिन्दु, आवसीय गुनासो सुन्ने अधिकारी, स्वानियमन निगरानी गर्ने अधिकारी समेत तोक्न सावर्जनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समयसीमाभित्र सूचीकरणको लागि सम्पर्क गर्न नआएका सञ्जालहरुलाई बन्द गर्ने निर्णय लिइएको बताउनुभयो ।

साेही सामाजिक सञ्जाललाई नेपालभित्र बन्द गराउन र सूचीकरण गर्न आएमा सोही क्षणदेखि पुन:सक्रिय गराउन नेपाल सरकार दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको समेत उहाँले बताउनुभएकाे छ। साेही निर्देशन बिहीबारबाट लागू हुने र दर्ता गर्न आए आएकै दिनबाट खुला हुने उहाँकाे भनाइ थियाे ।

सञ्चारमन्त्री गुरुङका अनुसार नेपालमा सञ्चालित भएका सामाजिक सञ्जाल कति छन् भनेर सञ्चार मन्त्रालयले अध्ययन गरेको थियो । करिब २४-२५ वटा ठूला र मझौला खालका छन् । मेटा कम्पनी ठूलो खालको सामाजिक सञ्जाल हो । यी सबै आजका मितिबाट बन्द हुनेछ ।

सूचीकरणका लागि एक पैसा पनि नलाग्ने हुँदाहुँदै अटेरी गर्नेहरुमाथि कठोर कदम चालिएको उहाँको भनाइ छ ।