Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


महिलामाथि हुने विभेद अन्त्य गर्न सरकारले सबै संयन्त्र परिचालन गर्ने


0
Shares

काठमाडौं, असोज ४ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलामाथि हुने विभेदको अन्त्य गर्न सरकारले सबै संयन्त्रलाई सक्रिय रुपमा परिचालन गर्ने बताएकी छन् ।

स्वीट्जरल्याण्डको राजधानी जेनेभामा आगामी अक्टोबर महिनामा हुन लागेको महिला अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलको तयारीका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा मन्त्री थापाले शोषणरहित र समतामुलक समाजको निर्माण गर्नु सरकारको उद्देश्य रहेको बताइन् ।

उनले सबै विभेदको अन्त्य गरी सम्मानित नागरिकको रुपमा बाँच्न पाउने अधिकारको प्रत्याभूत गर्न आवश्यक पर्ने कानुनको निर्माण गरिने बताइन् ।

कार्यक्रममा अधिकारकर्मीहरुले महिलामाथि हुने विभेद न्यूनिकरण गर्नका लागि बनाइएको नीति नियमलाई जोडदार रुपमा कार्यान्वयन गर्न सुझाव दिएका छन् । उनीहरुले विभेद अन्त्यका लागि स्थानीय तहको  सरकारलाई नै जवाफदेही र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । 

यसैगरी वैदेशिक रोजगारमा जाने परिवारका महिला बालबालिकालाई शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता राज्यले गर्नुपर्ने उनीहरुको माग छ ।