१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक स्वीकृत


1.651k
Shares

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभा बैठकबाट बहुमतले स्वीकृत गरेको छ ।

सभाको बुधबार बसेको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफल सहभागी हुँदै सांसदहरुले विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नु परेका विद्यमान समस्याहरु हटेर जाने विश्वास व्यक्त गरेका थिए ।

आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरुको विश्वास छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै यसको समर्थन गर्नुभयो । उहाँले यो विधेयकले नागरिकसम्बन्धी नागरिकले भोग्दै आएका सबै प्रकारका कानूनी अप्ठ्याराहरु अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकको समर्थन गर्नुभयो । विधेयकले महिलाको सम्मान गरेको उहाँको भनाइ छ । संविधानमा व्यवस्था भएता पनि व्यवहारमा लागू नभएका कारण नागरिकले भोग्नुपरेको दुःखको यस विधेयकले अन्त्य गर्ने उहाँले विश्वस व्यक्त गर्नुभयो । बालबालिकालाई परिचयपत्र दिने व्यवस्था पनि विधेयकको महत्वपूर्ण विषय भएको उहाँको भनाइ छ ।

सरकारले आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न नागरिकता ऐन संशोधन गर्नको लागि विधेयक ल्याएको हो । विधेयक पास भइसकेपछि बाबुले असहयोग गरेका तथा पहचिान नै नभएका नागरिकले समेत आमाको नामबाट मात्रै पनि नागरिकता पाउने भएका छन् ।