१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


वरिष्ठ लोकदोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन


4.03k
Shares

काठमाडौं । नेपाली लोकदोहोरी संगीतकी धरोहर तथा ‘काठे भाका’की चर्चित गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी गुरुङको गएराति १२ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा निधन भएको हो ।

२०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५, भारदेउमा जन्मनुभएकी इन्दिरा गोले गुरुङले नेपाली संगीतलाई पाँच दशकभन्दा बढी समयदेखि अतुलनीय योगदान दिएकी थिइन् । ५ हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी गुरुङले लोकदोहोरी, तामाङ सेलो, देउडा लगायत विभिन्न भाषा र भाकाका गीतहरू गाएर दर्शक तथा स्रोताको मन जितेकी थिइन् ।

उनका ‘चागुनारायण थान’ र ‘आज मलाई उनीको पछ्यौरी’ जस्ता गीतहरू अत्यन्तै लोकप्रिय भई छुट्टै पहिचान दिलाएका थिए । यी गीतहरू आज पनि लाखौं नेपालीहरूको जिब्रोमा झुण्डिएका छन् । तामाङ कलाकार संघका अनुसार, उनको अन्त्येष्टि आज बौद्ध परम्पराअनुसार गरिने तयारी गरिएको छ । अन्त्येष्टिअघि उहाँको पार्थिव शरीरलाई श्रद्धान्जलिका लागि राष्ट्रिय नाचघरमा राखिनेछ ।

इन्दिरा गोले गुरुङको परिवारमा दुई छोरी छन् । पतिको पनि केही वर्षअघि क्यान्सर रोगकै कारण निधन भएको थियो ।