
काठमाडाैं । करिव दुई वर्षपछि दशरथ रंगशालामा सिनियर राष्ट्रिय पुरुषको अन्तर्राष्ट्रिय फुटबलमा फर्किदा नेपाली टोली उत्साहित भएकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल आगामी सेप्टेम्बर ६ र ९ तारिखमा हुनेछन् । २०८० साल मंसिर १ पछि नेपालको सिनियर पुरुष टोलीले यो मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।
रंगशाला असुरक्षित भएको भन्दै यस मैदानमा फिफाका अधिकारिक प्रतियोगिताहरू हुन सकेको छैन । एएफसीले खेल्न अनुमति नदिँदा नेपाली समर्थकले घरेलु मैदानमा सिनियर राष्ट्रिय पुरुष टोली हेर्न नपाएको झन्डै दुई वर्ष बितिसकेको छ । तर, लामो समयपछि यो मैदानमा फेरि समर्थकहरू उत्साहित हुन पाउँदैछन् ।
नेपाली टोलीका खेलाडीहरू पनि दशरथ रंगशालामा घरेलु समर्थकका माझ खेल्न पाउँदा झन् उत्साहित छन् । नेपाली टोलीका स्टार अञ्जन बिष्टले फिट नहुँदा आफूले पनि खेल्ने नपाएको र त्यसमा पनि दशरथ रंगशालामा लामो समयपछि खेल्न पाउँदा धेरै उत्साहित रहेको बताए ।
आफ्नो उत्कृष्ट दिने लक्ष्यसहित प्रशिक्षण गरिरहेको पनि उल्लेख गर्दै अञ्जनले गोल नगरेको धेरै समय भएको र अबको मैत्रीपूर्ण नै सही समय रहेको बताए । नेपालमा नियमित फुटबल नहुँदा फुटबलरलाई समस्या भैरहेको र राष्ट्रिय टोलीमा पनि समस्या भएको उनले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्