१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


ओली सरकारले अख्तियार सम्बन्धि विधेयक अगाडि बढाउन नचाहेको कांग्रेसको आरोप


676
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयक अघि बढाउन नचाहेको बताउदै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा र सांसद दिलेन्द्रप्रसाद बडूले सो विधेयक अघि बढाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्रीहरुलाई तत्काल दबाब दिन पनि समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई सुझाव दिएका छन् । उनीहरुले सोही विधेयकको क्षेत्राधिकारको विषय अदालतको विषय भएपनि त्यसमा सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गरेका हुन् ।

त्यसैगरी सांसद बडूले सरकारले सोही विधेयक अघि नबढाएको आक्रोश व्यक्त गर्नुभयो । उहाँले विधेयकलाई अघि बढाउनका लागि समितिका सभापति न्यौपानेलाई विशेष पहल गर्न पनि सचेत गराउनुभएको छ । सांसद बडूले विधेयक सरकारले नचाहेको कारण समितिमा अघि नबढन नसकेको पनि बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सोही विधेयक समितिमा अघि बढाउन सभापति न्यौपानेलाई दबाब दिनुभयो । उहाँले विगतमा पनि समितिका निःवर्तमान सभापति रामहरि खतिवडाले विधेयक अघि बढाउन नदिएको गुनासो गर्नुभएको छ। प्रमुख सचेतक पाण्डेले २०७६ सालमा संसदमा दर्ता भएको सो विधेयक अझै पारित नहुनु लाजमर्दो विषय भएको उल्लेख गर्नुभयो । विधेयकलाई समितिले आफ्नो अधिकारलाई प्रयोग गरेर अघि बढाउनुपर्ने र त्यसले सरकारलाई पनि दवाव पुग्ने उहाँको भनाइ छ ।

त्यस्तै, जनता समाजवादी पार्टीका सांसद अशोककुमार राईले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरु छिटो अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समितिले प्रहरी ऐनलगायतका अति आवश्यक ऐन निर्माणमा लागि सक्दो पहल गर्नुपर्ने पनि बताउनु भएको छ।

बैठकमा समितिका अन्य सदस्यहरुले संघीयता कार्यान्वयनका लागि आवश्यक सबै कानून निर्माण हुनेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।