१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


‘सरकार सत्ताकब्जा गर्नेतर्फ उन्मुख भयो, हामी आन्दोलनमा जान्छौं’: उपाध्यक्ष सापकोटा


845
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनुभएको छ ।

काठमाडौंमा सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकार निरंकुशतातर्फ गएका कारण आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी गरेको बताउनुभयो । उपाध्यक्ष सापकोटाले संसदमा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दवाव दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गर्नुभयो ।

सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको त्यसको तयारी रहन पनि उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ। सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गइरहेकाले आफूहरुले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।

उपाध्यक्ष सापकोटाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच पनि भयानक ठूलो अन्तर्विरोध रहेको समेत दावी गर्नुभएको छ ।