१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलकाे तयारी अन्तिम चरणमा, खेलमा १ करोड २७ लाख बढी खर्च हुने


715
Shares

काठमाडौं । घरेलु मैदानमा बंगलादेश फुटबल टोलीसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालले आफ्नो तयारीलाई तीव्रता दिएको छ ।

नेपाल र बंगलादेशबीच फिफा इन्टरनेसनल विन्डोमा आगामी सेप्टेम्बर ६ र ९ तारिखमा दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल हुने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनमा आयोजना गर्दै आफ्नो तयारी बारेमा जानकारी गराएको हो । पछिल्ला समयमा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुन सकेको थिएन ।

दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशविरुद्धको खेलसँगै लामो समयपछि नेपालको घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल फर्किनेछ । दुई देशबीच सहमति हुँदा प्रतियोगिता गर्न सकिने भएकाले यो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने भएको प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले जानकारी दिएका हुन् ।

उनले यसका लागि एशियन फुटबल कन्फेडेरसनको स्वीकृति आवश्यक नपर्ने उल्लेख गरेका छन् । यो मैत्रीपूर्ण खेलका लागि रंगशालाको २५ प्रतिशत क्षेत्र खाली नै राखिनेछ । भिआइपीमा १ हजार २ सय र साधारणतर्फ ८ हजार टिकट बिक्री गरिने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । दुवै खेलको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहनेछ । यद्यपि, अनलाइन बिक्रीका लागि टेन्डर खुलाइने एन्फाले उल्लेख गरेको छ । भिआइपी पारापिटमा १ हजार र सामान्य पारापिटतर्फ ५ रूपैयाँ टिकट निर्धारण गरिएको छ ।

यो मैत्रीपूर्ण खेलको मार्केटिङ र डिजिटल अधिकार एड रिलिज प्रालीले पाएको हो । बंगलादेशको टोली आगामी बुधबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । इंलिस प्रिमियर लिगको पूर्वक्लब लेस्टर सिटीका स्टार हेम्जा चौधरीले पनि यो मैत्रीपूर्ण खेल्ने आशामा नेपाली समर्थक छन् । यद्यपि, बंगलादेशको टोलीमा उनको सहभागिताको बारेमा अझै अन्योल नै छ ।

बंगलादेशको टोलीले भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासलस्थित च्यासल रंगशालाको मैदानमा अभ्यास गर्नेछन् । मुख्य प्रशिक्षक म्याट रसको प्रशिक्षणमा नेपाली टोलीले प्रशिक्षण गरिरहेको छ । एन्फाले यो मैत्रीपूर्ण खेलका लागि एक करोड २७ लाख ५८ हजार अनुमानित खर्च हुने उल्लेख गरेको हो ।

एन्फाका प्रतियोगिता निर्देशक मिश्रले फ्लड लाइटमा साँझ साढे ५ बजे खेल सञ्चालन हुने जानकारी दिए । यो मैत्रीपूर्ण खेलका लागि एन्फाले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा पनि गरिसकेको छ । नेपाली टोलीमा समीर तामाङले पुनरागमन गरेका हुन् । गत मार्चमा फिफा विश्वकप छनोटमा बहराइनविरुद्ध खेलबाट तामाङले डेब्यू गरेका थिए । त्यसयता तामाङ टोलीबाट बाहिर थिए ।

नेपाली टोलीको अन्य सदस्यमा रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन बिष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक बिष्ट, दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लेकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रणदीप पौडेल, रोहन कार्की, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ रहेको एन्फाले जनाएको छ ।