१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


राष्ट्रियसभाको बैठकमा निजामति विधेयक पेश हुने


1.261k
Shares

काठमाडौं । राष्ट्रियसभाको आज बस्ने वैठकमा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गर्ने तयारी छ ।

अपराह्न सवा तीन बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले निजामती विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । विधेयकमा मिल्न बाँकी रहेका विषय आजै टुंग्याउने र वैठकमा पेस गर्ने तयारी गरिएको हो । कर्मचारीको अवकाशको उमेर हद लागु गर्ने बाहेक अन्य अधिकांश विषयमा सहमति जुटिसकेको छ ।

उक्त विषयमा पनि आजै सहमति जुटाएर राष्ट्रिय सभा बैठकमा पेस गर्ने तयारी रहेको छ । हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ५९ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाशको व्यवस्था गर्न आग्रह गरेकी थिइन् ।

विपक्षी दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभाको संशोधनमै सहमति गरेर जानुपर्ने अडान राखेपछि समितिको बैठक आजका लागि सारिएको हो ।

प्रतिनिधि सभाबाट पास भएको विधेयकको प्रतिवेदनमा कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष उल्लेख छ । यस्तै राष्ट्रियसभाको वैठकमा भूमिसम्बन्धी विधेयक पनि पेश गरिने भएको छ ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यसूची पनि छ ।