
काठमाडाैं । रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुंगो लगाएकाे छ ।
रास्वपाको हिजो डा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको हो । नौ जना आकांक्षी मध्ये विभिन्न चरणका छनौट प्रक्रिया मार्फत डा थापाको नाम चयन गरिएको जनाइएको छ ।
उम्मेदवार बन्नका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । रास्वपाले पार्टी सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति तयार पारेको थियो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित अञ्चलपुरका वासिन्दा थापा वरिष्ठ न्युरोलोजिस्ट चिकित्सक हुन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम गरेका थापा अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’ अध्ययन गरेका छन् । डा थापाकै टिमले तयार पारेको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्