Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


सप्तकोसी नदीको ३१ वटा ढोका खोलिए


585
Shares

काठमाडौं । सप्तकोशी नदीमा पानी सतह अत्याधिक बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले दिएको जानकारी अनुसार आइतबार राति १० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको छ।

आइतबार दिउँसो २ बजे गरिएको मापनमा पानीको प्रवाह १ लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड हुँदा ब्यारेजका २३ वटा ढोका खोलिएका थिए। तर, पानीको बहावमा उल्लेख्य वृद्धि भएसँगै अहिले ब्यारेजका कुल ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएका छन्।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार, पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने प्रचलन रहेको छ। सोही अनुसार, अहिले ब्यारेजमा रातो बत्ती बालिएको छ, जसले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिएको छ।

यस उच्च जलस्तरका कारण नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ।