१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


कैलालीमा खोलामा डुबेर ४ जना किशोरको मृत्यु, ३ को सकुशल उद्धार


1.612k
Shares

काठमाडाैं । कैलालीको खुटिया खोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर ४ जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–९, शेहरीको झुलोंगे पुल नजिक खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवाहरु मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीले धनगढीका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेको जनाएको छ ।

खोलामा पौडी खेल्ने क्रममा ७ जना किशोर मध्ये ४ जना वेपत्ता भएकोमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएकाे हाे । उनीहरु बिहीबार करिब २ बजेतिर खुटिया खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । ३ जना किशोरको भने सकुशल उद्दार गरिएको थियो ।

बेपत्ता भएका चारै जना किशोरको शव नदीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले निकालेको जिल्ला प्रहरी कार्यालयका कैलालीले जनाएको छ । किशोरहरू बिहीबार दिउँसो ७ जनाको समूह बनाएर खुटिया नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा पौडी खेल्न पसेका अन्य ३ जनाको भने सकुशल उद्दार गरिएको छ।

चारै जना किशोरको शव परीक्षणका लागि धनगढी लगिएको प्रहरीले बताएको हो ।