११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


संवैधानिक इजलास गठनमा विवाद र मतभेद छैन: प्रधानन्यायाधीश राउत


520
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नभएको दावी गर्नुभएको छ।

प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको हो। प्रधानन्यायाधीश राउतले बुधबार आफूले तोकेको ४ जना न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताउनुभएको छ ।

संविधानको धारा १ सय ३७ को संवैधानिक इजलासको गठन सम्बन्धी व्यवस्था रहेको छ । त्यसको (१) मा सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहने भएको छ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोकेको अन्य ४ जना न्यायाधीश रहने उल्लेख गरिएको छ ।

उहाँले भन्नुभयो,-‘संवैधानिक इजलास गठनमा कुनै विवाद थिएन, न्यायाधीश नियुक्ति, सरुवालगायतको जरुरी कामका कारणले संवैधानिक इजलास राख्न नसकिएको हो । ‘संवैधानिक इजलास गठन गर्न संविधानले नै प्रधान न्यायाधीशलाई संवैधानिक अधिकार दिएको छ, त्यही प्रयोग गरेर मैले इजलास गठन गरे ।’

संवैधानिक इजलास गठनका बारेमा धेरै भ्रमहरू फैलाउने गरेको बताउदै उहाँले ‘संवैधानिक इजलास गठनको विषयमा संविधानमै स्पष्ट व्यवस्था गरेको बताउनुभयो । अदालतको गरिमा, मर्यादा, पारदर्शी र जिम्मेवार बनाउन लागिरहेको समेत उहाँको भनाइ छ ।

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) मा १ वर्षको कार्ययोजनाको छलफलका क्रममा संवैधानिक इजलासलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको भए पनि कुनै पनि विवाद नभएको प्रधानन्यायाधीश राउतले बताउनुभएको छ । बीचमा केही समय रोकिएको संवैधानिक इजलास बुधबारदेखि सञ्चालनमा आएको हो ।

संवैधानिक इजलासमा २ सय २८ वटा मुद्दा रहेको सर्वोच्चले जनाएको छ ।