
खिलनाथ ताजपुरिया
काठमाडाैं । नेपाली महिलाहरुले मगंगलबार महान पर्व तीज धुमधामसाथ मनाइरहेका छन् ।
भाद्र शुक्ल द्वितीयका दिन दर खाएर शुरु हुने पर्वको दोस्रो दिन मगलबार विशेषतः भगवान शिवको पूजा आराधना र व्रत बस्ने चलन रहेको हाे । महिलाहरुले साेही दिन निराहार व्रत बसेर शिवालयहरुमा पुगेर पूजाआजा तथा नाचगान गर्ने गर्दछन् । अराध्यदेव पशुपतिनाथको मन्दिर क्षेत्रमा मंगलबार व्रतालु महिलाहरुको तीजको विशेष रौनक देख्न सकिन्थ्यो ।
पशुपतिनाथ मन्दिरमा नेपाली महिलाहरुको तीजको विशेष रौनक देख्न सकिन्थ्यो । तीजको व्रत बसेका महिलाहरुको भगवान शिवप्रतिको भक्ति र तीजका गीतमा मौलिक नृत्यले पशुपतिनाथ क्षेत्रको वातावरण नै रमणीय बनेको थियो । हिमालय पुत्री पार्वतीले निराहर व्रत बस्दा भगवान शिवलाई बर प्राप्त भएको दिन अर्थात भाद्र शुक्ल तृतीयामा हिन्दु महिलाहरुले उत्सवका हरितालिका तीज मनाउदै आएका छन् ।
विवाहित महिलाहरुले श्रीमानकाे दीर्घायू तथा पारिवारिक सुखको कामना र अविवाहित स्त्रीहरुले सुयोग्य वरको कामना गर्दै यो पर्वमा व्रत बस्ने गर्दछन् । साेही दिन महिलाहरुले बिहानै नुहाइधुवाई गर्ने, दिनैभरी जल र अन्न ग्रहण नगरि व्रत बस्ने चलन रहेकाे छ । यसो गर्दा चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
चेलीबेटी पराइको घरमा रहँदा माइतको सम्झनाको खाडललाई कम गर्न, भावना साटासाट गर्न तथा मिठामिठा परिकार खाने अवसरका रुपमा पनि यो पर्वको भूमिका छ । भाद्र शुक्ल दितीयाका दिन दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तर यो पर्व मनाउने तरिका विगत र अहिलेमा धेरै नै परिवर्तन भइरहेको गुनासो पनि धर्म गुरुहरुको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको थियो । मन्दिर परिसरमा अवाञ्छित गतिविधी रोक्न पनि सुरक्षा व्यवस्था बलियो बनाइएको प्रहरी अधिकारीहरुको भनाइ छ ।
दर्शन गर्न आउने भक्तजनको सहजताका लागि मन्दिर पुग्ने चारवटा लाइनको व्यवस्था गरिएको थियो भने मन्दिरका ४ वटै ढोका मंगलबार बिहान ३ बजेदेखि खोलिएको थियो । आधुनिक समाजमा तीज पर्वलाई फरक-फरक ढंगले व्याख्या, विश्लेषण गर्ने गरिए पनि सरोकारावालाहरु भने पौराणिक कालदेखि मान्दै आएको पर्वको मौलिकतालाई नै निरन्तरता दिन आवश्यक ठान्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्