
काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधि सभाकी सांसद ईश्वरीदेवी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
संसदीय सुनुवाइ समितिको सभापतिबाट मंगलबार राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले मंगलबार सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिनुभएको थियो ।
कांग्रेसकै प्रतिनिधि सभाका सांसद रामहरि खतिवडा राज्य व्यवस्था समितिको सभापति हुनुहुन्थ्यो । तर कुलिङ पिरियडमा विवाद भएपछि गत साउनमा खतिवडाले राजीनामा दिनुभएको थियो । त्यसपछि सभापति पद रिक्त रहेको थियो । सोही रिक्त पदपूर्ति गर्नका लागि न्यौपानेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सभापति पदको निर्वाचन भने बुधबार दिउँसो ३ बजे समितिको बैठकमा नै हुने संसदीय सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्