
काठमाडौं ।
हिन्दु महिलाहरुमा प्राचिन कालदेखि लोकप्रिय रहेको तिज पर्व पछिल्लो समय सबै जातजाति र वर्गमा पनि प्रसिद्ध बन्दै गएको छ ।
तराई मधेसका पहाडी समुदायका महिलाहरुमा सिमित रहेको तिज पर्व पछिल्लो समय यहाँका मधेसी समुदाय माझ पनि लोकप्रिय छ ।
मधेसमा पहिले घरभित्र सिमित रहेर हरितालिका तिज मनाउने महिलाहरु पछिल्लो समय सार्वजनिक स्थलमा निस्केर सामुहिक रुपमा उत्सवमा सहभागी हुने क्रम बढ्दै गएको छ ।
यस वर्ष पनि जनकपुरधामस्थित शिव मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरुको ठूलो भीड लागेको छ । हिन्दु धर्मावलम्वीहरुको महान पर्व तीजको अवसरमा मिथिलाञ्चलका विभिन्न मन्दिर परिसरमा महिलाहरुको उत्साह झल्किएको छ । एक व्रतालु महिला भन्नुहुन्छ, ‘भगवान शिवको पूजा आराधना गर्दा पति र सन्तानको दीर्घायु हुने विश्वास छ । यसैसँगै घरपरिवारमा सुखशान्ति कायम रहोस् भन्ने कामना गर्दै व्रत बसेका छौं ।’
जनकपुरधामसहित मधेस प्रदेशमा तिज पर्व मिथिलाञ्चलको सांस्कृतिक अभिव्यक्तिको प्रतिक मात्र नभई पछिल्ला वर्षहरुमा सामाजिक मेलमिलाप र सामुहिक उत्सवको रुपमा पनि स्थापित हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्