१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान


260
Shares

काठमाडौं ।

भियतनामका उपराष्ट्रपति भो थी आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी उनी सोमबार मध्यरात स्वदेश फर्किएकी हुन् ।

उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले बिदाइ गरे । बिदाइ कार्यक्रममा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारी पनि उपस्थित थिए ।

उपराष्ट्रपति सुआनको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो ।

यही भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार नै शिष्टाचार भेटवार्ता गरेकी थिइन् । नेपाल बसाइँको क्रममा उनले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि उनले भेटवार्ता गरेकी थिइन् ।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको अवसर पारेर भियतनामकी उपराष्ट्रपतिले गरेको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।