Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


अपडेट : सुटकेसभित्र भेटिएको युवतीको शवको परिचय खुल्यो


16.4k
Shares

काठमाडौं ।
रौतहटको गौरमा शनिबार राति सुटकेशभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ । उक्त शव माधव नारायण नगरपालिका-२, महादेवपट्टी माइतीघर भएकी २६ वर्षीया रुवीकुमारी साहको रहेको प्रहरीले जानकारी दिएकाे छ ।

शनिबार राति करिब ९ बजे गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुल नजिकै स्थानीयले शंकास्पद सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुरक्षाको कारण देखाउँदै प्रहरीले राति नै सुटकेश नखोली आइतबार बिहान मात्र सेनाको बम डिस्पोजल टोलीको सहयोगमा सुटकेश खोलेको थियो।

सुटकेशभित्र रुवीकुमारीको शव फेला परेको हो। प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनको घाँटी कसेर हत्या गरिएको आशंका गरिएको छ। शवलाई कोचिएर सुटकेशभित्र राखिएको पाइएको छ।

रुवीको विवाह भारतको मुजफ्फरपुरमा भएको भए पनि पछिल्लो समय उनी माइतीघरमै बस्दै आएकी थिइन्। उनका पतिसँगको सम्बन्धबारेमा खुलाइएकाे छैन्। हाल प्रहरीले मृतकका आफन्तहरूसँग सोधपुछ गरिरहेको छ भने शवलाई जिल्ला अस्पताल गौरमा पोस्टमार्टमका लागि राखिएको छ।

हत्या किन र कसले गर्‍यो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिएका छन्।