६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


पूर्वराष्ट्रपति भण्डारी चुनावमा पराजित व्यक्तिको जमात खडा गरेर कुदेकाे प्रधानमन्त्री ओलीकाे आराेप


1.82k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं पार्टी सदस्यता छोडेको दावी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको छ ।उहाँले भन्नुभयो,-‘राष्ट्रपति हुने समयमा भण्डारी आफैंले पार्टी सदस्यता छोड्नुभएको हो । खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानुभएको हो । पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन । सदस्यताका लागि आवेदन गर्नुभएको पनि छैन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन । बाहिर टेलिभिजनले दिने त होइन होला ? ‘

पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरणको बारेमा पार्टीसँग छलफल समेत नगरेको अध्यक्ष ओलीको दावी छ । दर्ता चलानी शाखामा आएर पैसा बुझाउँदैमा सदस्यता नवीकरण नहुने उहाँको तर्क छ । कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरे भनेर, शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएको थियो ।

राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि यस्तो समस्या सिर्जना हुन्छ भन्ने कल्पना समेत नगरेको उहाँको भनाइ छ। दुई-दुई पटक राष्ट्रपति भएको मान्छे पार्टीमा फर्केर आउने समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना पनि नगरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । तर राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि पूर्वराष्ट्रपति भण्डारीले पार्टीभित्र चुनावमा पराजित भएका र असन्तुष्टहरूलाई बोकेर हिंड्ने काम गरेको उहाँको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीका सधैंका असन्तुष्ट, पार्टीका पक्षमा कहिल्यै नबोल्ने र पार्टीका विभिन्न जनसंगठनका चुनावमा पराजित भएका असन्तुष्ट व्यक्तिहरुको जमात खडा गरेर कुदिराखेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।