
काठमाडौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशका पहाडी भू–भागमा साधरणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज ९शुक्रबार० दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई भू–भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्र यात्रा तय गर्न महाशाखाले अनुरोध गरेको छ ।
गए राति गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको हो । अरू ठाउँको तुलनामा कास्की, रुपन्देही र रुकुम पूर्वमा निकै ठूलो पानी परेको छ ।
काठमाडौँ उपत्यकासहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । लगातार पानी परिरहेका ठाउँमा भेलबाढीको जोखिम भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्