
काठमाडाैं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय खोल्दै हुनुहुन्छ । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको निकट स्रोतले बताएको छ ।
यद्यपि पूर्वराष्ट्रपति भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ ।
समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्छ । मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहनुभएकी विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने कार्यक्रम छ ।
कार्यक्रमलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पनि सम्वोधन गर्दै हुनुहुन्छ । पोखरेल पछिल्लो समय भण्डारीको पक्षमा खुल्नुभएको छ । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन गठित समितिले वर्षभर विविध कार्यक्रम आयोजना गर्नेछ ।
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने उद्देश्यले पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रिय कमिटिको निर्णयपछि परिस्थिति फेरिएको छ । नेताहरूका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्