४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


‘अब मेरो धेरै उमेर छैन, कसैले पनि चिन्ता नगर्नुहोस्’: सभापति देउवा (भिडियाेसहित)


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नभएको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार स्व‍. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरुले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताउनुभयो । उहाँले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लढेको र सबै निर्वाचन जितेको बताउनुभएको छ। धेरै राजनीतिक दलका नेताहरु आफूलाई हराउन लागेको भएता पनि सफल नभएको उहाँको भनाइ थियो ।

सभापति देउवाले भन्नुभयो,-‘यहाँ धेरै साथीहरुले कुरा उठाउनुभएको छ । आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने, कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरुले सहयोग गरे, सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो । अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो । सौभाग्यले कहिले पनि हारेको छैन । धेरै पार्टीका नेताहरु मेरो खिलाफमा लाग्नुभयो, मेरो विरुद्धमा डडेल्धुराबाट तर म त हार्छु भनेको थिएँ, तै पनि जितेछु । जनता सबै भन्दा ठूलो कुरा हो । जनतालाई त्यहि कारण सार्वभौम सम्पन्न भनेका छौं । जनता देशको मालिक हो । जनता भन्दा ठूलो कोही छैन । सबै साथीहरुले जनताको सेवा गरौं ।’

सभापति देउवाले आफ्नो अब धेरै उमेर नभएका कारण कसैले पनि चिन्ता नगर्न समेत आग्रह गर्नुभयो ।