Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


दाङमा बस दुर्घटना: सात जना घाइते, चालक फरार


221
Shares

दाङ। दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ बस्ने २२ वर्षीया रुपा बोहरा, घोराही–३ बस्ने २८ वर्षीया गीता विक, घोराही–९ बस्ने ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ बस्ने ४३ वर्षीय सन्तोष डिसी र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रवि बुढामगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस मंगलबार राति तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैस्थित पेट्रोल पम्प नजिक बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार घाइतेहरुलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको छ । बस विद्युतको पोलमा ठोक्किदा पोल ढलेपछि अवरुद्ध भएको सडक तत्काल लाइन काटेर मर्मतपछि सडक सञ्चालनमा आएको छ ।

दुर्घटनापछि चालक नारायण कुवर भने फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।