३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025


जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित हुँदैनः सभामुख घिमिरे


39
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित नरहने बताउनुभएको छ ।

काठमाडौंमा सोमबार हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताउनुभएको हो। उहाँले जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले यो काम मुलतः सरकारको भएपनि विधायनका हैसियतमा धेरै कामहरु गर्न सकिने समेत बताउनुभएको छ । सांसदहरु वैज्ञानिक नभए पनि जलवायु अनुकुलनका लागि बजेट पारित गर्न सक्ने, इन्जिनियर नभएपनि इकोसिस्टम बनाउने र कार्बन उत्सजर्न नियमन बनाउने कानूनको डिजाइन गर्नसक्ने उहाँको भनाइ छ ।

सांसदहरुले किसान, मछुवारका लागि आवाज उठाउनसक्ने, जागरण पैदा गर्नसक्ने, विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार र एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसहरुको पीडा कम गर्नसक्ने उहाँले बताउनुभयो ।

सभामुख घिमिरेले वन जंगल र हिमताल जोगाउने कानून पारित गर्न समेत आह्वान गर्नुभएको छ ।