२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


अस्थिरताको रोग लागेका व्यक्तिले सरकार ढल्ने हल्ला चलाइरहेका छन् : महासचिव पोखरेल


195
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेका व्यक्तिहरूले सरकार ढल्ने हल्ला चलाइरहेकाे बताउनुभएकाे छ ।

प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पाेखरेलले एमाले र नेपाली कांग्रेस गठबन्धनकाे सरकार बनेदेखि नै उनीहरु सलबलाइरहेकाे दावी गर्नुभएकाे हाे ।

महासचिव पोखरेलले कांग्रेस र एमालेबीचको गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्मै जाने जिकिर गर्नुभएकाे छ। उहाँले कांग्रेस नेता शेखर कोइरालाप्रति लक्षित गर्दै एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु विरोधाषपूर्ण भएको बताउनुभयो ।

त्यस्तै, सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकमा सूचनाको हक कुण्ठित हुने कुनै पनि किसिमको कानून नल्याउने आश्वासन दिनुभयाे । सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्न मिडिया काउन्सिल विधेयक ल्याउन लागेकाे उहाँले बताउनुभयाे । अहिले स्वतन्त्रताका नाममा अराजकता बढेका कारण त्यसलाई नियन्त्रण गर्न खोजिएको उहाँको भनाइ छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उपयुक्त नहुने महासचिव पोखरेलले बताउनुभयो । पूर्वराष्ट्रपति सम्मानित भूमिकामा बस्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । सदस्यताका विषयमा कुनै विवाद नै नभएको र व्यक्तिसँग जोडन आवश्यक समेत नरहेको महासचिव पोखरेलले बताउनुभयो ।