२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


घोराही-८ का अध्यक्ष शाहको राजीनामा दुई वर्षपछि स्वीकृत


2.821k
Shares

घोराही ।

दाङकाे घोराही उपमहानगरपालिका-८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

उहाँले १२ असार २०८० मा नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएकाे थियाे । त्यसको दुई वर्षपछि उक्त राजीनामा स्वीकृत भएको हो ।

नगर प्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताउनुभयाे । एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिनुभएकाे थियाे । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएकाे हाे । वडाध्यक्ष शाहलाई एमालेले २०८१ माघमा पार्टीबाट समेत कारवाही गरेको थियो ।

यो बीचमा धेरै पटक सुधार्न खोजेपनि नसुध्रिएपछि राजीनामा स्वीकृत गरिएको नगर प्रमुख चौधरीको भनाई छ ।“धेरै पटक सम्झाउन खोजियो”,उनले भने“तर, उहाँले मान्नु भएन, नसुध्रिएपछि राजीनामा स्वीकृत गरियो ।”

उनको राजीनामा स्वीकृत भएपछि जेष्ठताका आधारमा चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।शाह काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष विजयी भएका थिए । उनले १४५१ मत ल्याएका थिए, भने काँग्रेसका उम्मेदवार धनिराम चौधरीले १२४४ मत ल्याएका थिए ।