२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते


2.093k
Shares

काठमाडौं ।

काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर एकाआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३ घाइते भएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा सोमबार बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएको प्रहरी बताएको हो ।

गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-०२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरी अनुसार दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएकी छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइते दुई पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तर दुर्घटनामा गम्भीर घाइते भएका सिराहा जन्दह–४ घर भएका २९ वर्षीय भोला थापालाई सोही अस्पतालमा उपचारको क्रममा चिकित्सकले २:१५ बजे मृत घोषणा गरेका छन्। त्यस्तै, करिब ३५ वर्षका अझै नाम, थर र ठेगाना नखुलेका एक पुरुषलाई समेत सोही समयमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि दुबै सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ भने मृतक र घाइतेका आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।