
मिडिया सोसाइटी नेपालले प्रश्तावित मिडिया काउन्सिल विधेयकलाई आवश्यक परिमार्जन गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिलाई ज्ञापनपत्र बुझाएको छ ।
हिजो सिंहदरबारमा समिति सभापति अम्मरबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै सोसाइटीले विधेयकमा प्रेस स्वतन्त्रता, सम्पादकीय स्वायत्तता र डिजिटल मिडिया भविष्यप्रति जोखिमपूर्ण प्रावधानहरू रहेको रहेको उल्लेख गर्दै परिमार्जन गर्न माग गरेको हो ।
विधेयकका धेरै दफाहरू संविधानको मर्म र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यता विपरित रहेको बताएको हो । ज्ञापनपत्र बुझाउँदै मिडिया सोसाइटीका महासचिव वोधराज त्रिपाठीले विधेयकमा प्रस्तावित संरचनाले काउन्सिल सरकारको प्रभावमा पर्ने दाबी गर्नुभयो । काउन्सिलका अध्यक्ष र सदस्यहरूको नियुक्ति प्रक्रिया सरकारको सिफारिस समितिबाट हुने व्यवस्था स्वतन्त्र नियामक संरचनाको मर्मविपरीत रहेको सोसाईटीको निचोड छ ।
विधेयकमा रहेका मर्यादा, अखण्डता जस्ता अस्पष्ट शब्दहरूको अपव्याख्या गरेर सरकारले समाचार तथा विचारको अभिव्यक्ति नियन्त्रण गर्ने खतरा रहेको पनि सोसाईटीको ठहर छ । विधेयकमा डिजिटल मिडियाको संरक्षण र नियमनबारे स्पष्ट नीति नभएको र सामाजिक सञ्जालजस्ता प्लेटफर्ममा बढ्दो गलत सूचना र घृणात्मक अभिव्यक्तिप्रति विधेयक मौन रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले सरोकारवालाहरुसँग व्यापक छलफल गरेर मात्रै विधेयकलाई मिडियामैत्री बनाउन सुझाव दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्