३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


नेपाल इभी युगमा गइसक्यो : मन्त्री दाहाल


312
Shares

कठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताउनुभएको छ ।

दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने मन्त्री दाहालले महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा यातायात पूर्वाधारको क्षेत्रमा नेपालपछि नै रहेपनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताउनुभयो । उहाँकाअनुसार पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग र उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् ।

मन्त्री दाहालले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय दुविधा देखिएको बताउनुभयो । दाहालकाअनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् । यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको छ ।

मन्त्री दाहालकाअनुसार डाइभिङ लाइसेन्सको समस्या हल भएको छ । उहाँले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको बताउनुभयो । अब लाइसेन्स दिने काम प्रदेशको भएकाले साउन १ देखि प्रदेशले नै दिने उहाँको भनाइ छ । दिगो भरपर्दो वातावरणमैत्री सडक बनाउन सरकार लागिरहेको छ । अहिले विश्व बैंक, एडीबी, जाइकाको सहयोगमा सडक पूर्वाधार बनिरहेको उहाँको भनाई छ ।

अब सार्वजनिक गाडीहरुमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने मन्त्री दाहालले बताउनुभयो । साना गाडीहरु विस्थापन गर्ने नीति सरकारको रहेको उहाँको भनाई छ । मन्त्री दाहालले नेपाल सरकारले जामलाई कसरी व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरुसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको बताउनुभयो ।