
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नीतिगत निर्णयमा अख्तियारले प्रवेश गर्नु जायज भएको बताउनुभएको छ ।
शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किनुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मानित नेता खनालले राज्यले बनाएको संविधान बमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले नीतिगत निर्णयमा हस्तक्षेप गर्नसक्ने बताउनुभयो । उहाँले संघीय, प्रान्तिय र स्थानीय जुनसुकै सरकारले गरेको निर्णयहरु भएपनि कसैले पनि अनियमितता गर्दछ भने त्यो कुरालाई छानविन हुनैपर्ने बताउनुभयो । छानविन गर्ने अधिकार जनतामार्फत बनेको कुनै निकायलाई नहुने कुरा राम्रो नरहेको बताउनुभयो । विशिष्ट व्यक्तिहरुले गरेका गलत कामहरु छानविनको दायरा भन्दा माथि राखेपछि राजतन्त्रको आलोचना गर्नुको अर्थ नरहने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले देशमा भ्रष्टाचारसँग सम्बन्धित प्रश्नहरुको निवारण अख्तियारको पहलमा सम्बन्धित अदालतमार्फत निरुपण हुनुपर्ने बताउनुभयो । नीतिगत निर्णय के हो भन्नेकुरा आफूले पनि नबुझेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्