३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


शेयर बजारमा दोहोरो अंकले वृद्धि


923
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से २५ दशमलव ८९ अंक बढेर २७३१ सय ८० को विन्दुमा पुगेको छ ।

परिसूचक बढेसंगै बिहीबार कारोबार रकम पनि ह्वात्तै बढेको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज जलविद्युत र ब्यापार उपसमूह बाहेक अरु ११ वटा उपसमूहको परिसूचक बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशतले बढेको हो ।

यस्तै, विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । माइखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८ दशमलव १५ प्रतिशत बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य झण्डै १० प्रतिशत घटेको छ ।

बिहीबार दिनभरमा ३१२ वटा स्टकको दुई करोड ६४ लाख ७० हजार कित्ता शेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सवैभन्दा बढी ५७ करोड ५ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।