
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार ललितपुरमा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कमजोरीहरु सबै ठाउँबाट भएको बताउँदै अब विगतमा भएका कमजोरीलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुप¥यो भनेर माग आए बमोजिम नै प्राधिकरण बनाइएको बताउनुभयो ।
मन्त्री अधिकारीले नियमन प्राधिकरण बनेसँगै काम नै शुरुवात नभइ नियन्त्रण खबरदार भन्ने गरिएको बताउनुभयो । उहाँले बिग्रिएको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउन नसक्ने जिकिर गर्नुभयो । आचरणहिन भइसकेको कुरालाई आचरणभित्र ल्याउन नियन्त्रण गर्नैपर्ने जरुरी रहेको बताउनुभयो । सरकार सहकारी नियन्त्रण गर्नेतर्फ नरहेको बताउँदै स्वनियमनमा छोडिदिँदा स्वनियमनको पद्धति तोडेको आरोप लगाउनुभयो । स्वनियमनको पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता जरुरी भएको बताउनुभयो ।
मन्त्री अधिकारीले सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्