Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


वित्तिय खाडल न्युनिकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आह्वान


299
Shares

काठमाडौं । विकासका लागि वित्त चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ ।

राष्ट्रसंघका महासचिवको निमन्त्रणमा गत असार १४ गते स्पेनतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीको ६ दिने भ्रमण सफल र फलदायी भएको परराष्ट्र सचिव अमृत राईले बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणबारे ब्रिफिङ गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तीय खाडल न्युनिकरणका लागि व्यवहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वान गर्नुभएको बताउनुभयो ।

परराष्ट्र सचिव राईका अनुसार खानेपानी तथा सरसफाईका लागि वित्तिय स्रोत परिचालनका लागि राष्ट्र प्रमुख स्तरीय अभियानको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाल समेत खानेपानी तथा सरसफाईको उक्त अभियानमा समावेश भएको घोषणा गुर्नभएको छ । उहाँले स्वच्छ खानेपानीको अधिकारलाई नेपालको संविधानले मौलिक हकको रुपमा सम्बोधन गरेको भन्दै त्यसको कार्यान्वयनका लागि सरकार प्रतिवद्ध व्यक्त गरेको पनि बताउनुभयो ।

सचिव राईले स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गरेको पनि जानकारी दिनुभयो । त्यसक्रममा स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसंघिय निकायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो ।