
काठमाडौं । यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराउनुभएको हो । उहाँका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वषा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
अन्य भूभागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको निर्देशक जोशीले बताउनुभयो । निर्देशक जोशीकाअनुसार नेपालमा वार्षिक औसत वर्षा १४९८.४ मिलिमिटर भएपनि गत वर्ष १६९१.३ मिलिमिटर वर्षा भएको थियो, जुन ११३ प्रतिशत हो । उहाँले मौसम पूर्वानुमानलाई लिएर मिडियामा आएको ‘३०/४० वर्ष यताकै धेरै पानी पर्छ’ भन्ने दाबीलाई सही नभएको समेत स्पष्ट पार्नुभयो ।
जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा बदलिएको बताउँदै निर्देशक जोशीले विपद् नहोस् भन्नेमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्