
काठमाडौं । राष्ट्रिय सभामा खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद जगप्रसाद शर्माले गर्ने उक्त संकल्प प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दूषित पानी पिउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले खानेपानी सबै प्राणीहरूको निम्ति महत्वपूर्ण रहेको बताउँदै दूषित पानीले झाडापखालादेखि विभिन्न रोगहरू ल्याउने र अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको समेत जिकिर गर्नुभयो ।
सांसद शर्माले संकल्प प्रस्तावको मुख्य पाठ नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्ने रहेको र थोरै लगानीमा पनि कम्पनी निर्माण गर्न सकिने विज्ञहरूले बताएको बताउनुभयो । उहाँले नेपालमा नागरिकलाई सुरक्षित पानीको व्यवस्था गर्न ब्लिचिङ पाउडर निर्माण कम्पनीको आवश्यकता रहेको बताउँदै त्यसले केही मात्रा भए पनि रोजगारी सिर्जना गर्ने जिकिर गर्नुभयो ।
संकल्प प्रस्तावलाई सांसदहरू कृष्णबहादुर रोकाय, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी शाह गरिमा र मोहम्मद खालिदले समर्थन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्