
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले लागि परेको बताउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खेलकुदमन्त्री चौधरीले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले विभिन्न खेल पुरस्कारको योजना बनाएको बताउनुभयो । उहाँले खेलाडीहरूलाई नगद प्रोत्साहन, आवश्यक खेल सामग्री र तालिमको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
खेलकुदमन्त्री चौधरीले खेलाडीहरूको क्षमता अभिवृद्धिको लागि अनुभवी प्रशिक्षकहरूको व्यवस्थापन, खेलकुद विज्ञानमा आधारित तालिम, खेल पूर्वाधारको निर्माण र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले दीर्घकालीन रूपमा राष्ट्रको खेल प्रतिष्पर्धाको क्षमतामा सुधार ल्याउने अपेक्षासहित कदमहरू चालिएको बताउनुभयो । उहाँले युवा पलायन न्युनिकरण गर्न मन्त्रालयले आत्मनिर्भर र उद्यमशील बनाउने नीति अवलम्वन गरेको जिकिर गर्नुभयो ।
खेलकुदमन्त्री चौधरीले मन्त्रालयबाट विनियोजन बजेटको उपयोग, प्रचलित कानुन, बजेटको कार्यान्वयन र कार्य योजना निर्धारण गरिएका माइलस्टोन र वित्तीय अनुशासनका सबै पक्षहरूलाई ध्यानमा राखी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्