Logo २७ आश्विन २०८२, सोमबार | Tue Oct 14 2025


भिजिट भिसा छानविन समिति बनाउनुपर्छ : सांसद बस्नेत


1.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सरकारले घोषणा गरेबमोजिम छिटै भिजिट भिसासँग सम्बन्धित समस्या समाधानका लागि छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद बस्नेतले ३० दिन भनिएपनि अब केही दिनभित्रै छानविनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले भिजिट भिसाको विषय आम जनताको सरोकारको विषय बन्दै गएकोले सरकारले गरेको प्रतिवद्धताअनुसार तत्काल काम शुरु गर्नुपर्ने बताउनुभयो ।

सांसद बस्नेतले सरकारले लाखौं शिक्षकसँग प्रतिवद्धता गरेअनुसार असार १५ गतेभित्र शिक्षा विधेयक पारित गरिसक्नुपर्ने आवश्यकता औंल्याउँदै कुनैपनि बहानामा जिम्मेवारीबाट नपन्छिन् आग्रह गर्नुभयो । त्यसैगरी नागरिकता विधेयक, निजामती सेवासम्बन्धी विधेयकसँग बजेटका कयौं महत्वपूर्ण विषयहरुमा पनि छलफल गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षी दल लगायतसँग गरिएको प्रतिवद्धता केही दिनभित्रै सम्बोधन गर्दै जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतले सरकारलाई आग्रह गर्नुभयो ।

सांसद बस्नेतले वर्तमान समयमा देखिएका समस्याहरुको न्यायिक निरुपण, छलफल र कानूनी ढंगले समाधान गर्ने विषयमा गम्भीर ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।