
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले विगतमा प्रतिपक्षी भुमिकामा रहेकाहरुको प्रभावमा परेर अहिलेको प्रतिपक्षले संसद अवरोध गरेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले विगतमा प्रतिनिधि सभामा नेकपा एमालेले नौ महिनामा ५८ वटा र नेपाली कांग्रेसले २ महिनामा २२ वटा बैठक अवरोध गरेको स्मरण गराउनुभएको हो । प्रतिपक्षले जुन माग राखेर संसद अवरोध गरिरहेको छ त्यो मागबाट पछि हटेर भिजिट भिसा प्रकरणमा कम्तिमा संसदीय प्रक्रियाअनुरुप छानविन समिति बनाएर समस्या समाधानका लागि लचकता प्रश्तुत गरेको उहाँले दाबी गर्नुभयो ।
सांसद शर्माले नेपालको नयाँ व्यवस्थाले माग गरेको अर्थ व्यवस्था प्रश्रव पीडाबाट गुज्रिरहेको र आआफ्नो बुझाइ, सोचाइ, दृष्टिकोण, आस्था र विश्वासका आधारमा अपेक्षाहरुबारे तर्क गरिरहेपनि हामीले परिकल्पना गरेको, संविधान र व्यवस्थाले परिकल्पना गरेको नयाँ अर्थव्यवस्था धनको नभई श्रम विज्ञानको रहेको उहाँको भनाई थियो ।
सांसद शर्माले कुनैपनि वस्तुको मूल्य निर्धारण लागत सिद्धान्त, उपयोगिता र माग वा पूर्तिका आधारमा नभई त्यसमा लाग्ने श्रमका आधारमा गरिए नयाँ मान्यता स्थापित गरेर नयाँ अर्थव्यवस्था निर्माण गर्न सकिने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्